logo

२०८३ कार्तिक १० सोमबार

प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग

प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग


खबर सर्कल
  • आइतबार, ५ असोज २०८२
  • 1.5K
    SHARES

    झापा, ५ असोजः जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका जिल्लाका प्रहरी भवनको पुनःस्थापनाका लागि समुदायस्तरबाट सहयोग जुट्न थालेको छ । कोडिभ–१९ का बेला स्थापना भएको ‘एकका लागि एक अभियान’ले प्रहरी चौकी पुनःस्थापना गर्न रु १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

    अभियानका संयोजक महेन्द्र गिरीले ध्वस्त भएका प्रहरी कार्यालयको पुनःस्थापनाका लागि रु १० लाख बराबरको कम्प्युटर, ल्यापटप, फर्निचर र निर्माण सामग्री किनेर उपलब्ध गराइने बताउनुभयो । यसैगरी, मेचीनगरका उद्यमी आनन्द खड्काले जेनजी प्रदर्शनका क्रममा ध्वस्त भएको धुलाबारी ट्राफिक प्रहरी पोष्ट निजी खर्चमा पुनःनिर्माण गरिदिनुभएको छ ।

    उहाँले मेचीनगरकै ज्यामिरगढी प्रहरी चौकी र इटाभट्टा ट्राफिक प्रहरी पोष्टसमेत निर्माण गरिदिने बताउनुभयो । जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा आगजनीबाट ध्वस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र अनारमनी इलाका प्रहरी कार्यालयको भग्नावशेष सरसफाइ गर्ने तथा मर्मतमा स्थानीय युवा जुटेका छन् ।

    विर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाइँले विभिन्न सामाजिक संस्थामा आवद्ध २०० भन्दा बढी युवा सरसफाइमा जुटेका बताउनुभयो । गत भदौ २४ गते विर्तामोडमा जेनजीको प्रदर्शनका क्रममा दुबै प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए भने प्रहरीका हातहतियार समेत लुटिएको थियो । हतियार नेपाली सेनाले फिर्ता लिइसकेको छ ।

    झापामा जेनजी प्रदर्शनका क्रममा ७३ प्रहरी इकाई र १५ ट्राफिक युनिटमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

    आगजनी र तोडफोड गरिएका भवनमा प्रहरी बस्ने अवस्था नभए पनि जिल्लाका सबै क्षेत्रमा प्रहरी पूर्ववत परिचालन भइसकेको उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend