logo

२०८३ कार्तिक १० सोमबार

नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौँ उपत्यकाका शक्तिपीठ

नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौँ उपत्यकाका शक्तिपीठ


खबर सर्कल
  • आइतबार, ५ असोज २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, ५ असोजः नवरात्र नजिकिएसँगै काठमाडौँ उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ । काठमाडौँ उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, चामुण्डामाईलगायत शक्तिपीठहरू झिलीमिली बत्तीसहित सिँगारिएका छन् । एक साताअघिदेखि यी मन्दिर क्षेत्रमा सिँगारिएका हुन् ।

    आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्मका नौ रातलाई ‘नवरात्र’ भनिन्छ । नवरात्रमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    मैतीदेवी मन्दिर क्षेत्रमा नवरात्रको सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

    यस अवसरमा घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आराधना एवं दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु हुँदैछ ।

    असोज १५ गते बुधबारसम्म नवरात्र रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । नवरात्रभर पूजा, आराधना गरिएको देवीको प्रसाद असोज १६ गते विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमाका दिनसम्म ग्रहण गरिन्छ । विजयादशमीका दिनदेखि मान्यजनकहाँ टीका, प्रसाद एवं आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend