logo

२०८३ कार्तिक १० सोमबार

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या


खबर सर्कल
  • मंगलबार, ७ असोज २०८२
  • 1.4K
    SHARES

    दैलेख, ७ असोजः जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ ।

    शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ ।

    तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताउनुभयो । “संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

    नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको लागतमा उक्त भवन बन्दै छ । भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको प्रमुख विश्वकर्माले बताउनुभयो ।

    अस्पताल भवन निर्माणको सम्पूर्ण प्राविधिक पक्ष हेर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी निर्माण कम्पनीको लापरवाहीले भवन समयमै नबनेको आरोप छ ।

    निर्माणमा संलग्न कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानुनी अल्झन तथा रुख कटानको समस्याले समयमै भवन निर्माण कार्यले गति लिन नसकेको बताउनुभयो ।

    जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गत वर्ष जेठभित्र भवन निर्मार्ण गरिसक्नुपर्ने सम्झौता रहेको बताउनुभयो । उहाँले भवन निर्माण गर्न पटक पटक म्याद थप गर्न नसकिने बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend