logo

२०८३ कार्तिक १० सोमबार

झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी

झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी


खबर सर्कल
  • मंगलबार, ७ असोज २०८२
  • 1.5K
    SHARES

    भद्रपुर (झापा), ७ असोजः बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार ।

    आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ ।

    यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र होइन, कोशी प्रदेशका विभिन्न जिल्लासम्म परिचित भइसकेको छ । यस उद्योगकी सञ्चालक हुनुहुन्छ तारादेवी अधिकारी ।

    उहाँ सामान्य गृहिणीमात्र नभएर, सङ्घर्ष र सीपलाई आधार बनाउँदै आत्मनिर्भर बन्न खोज्ने अनि अरु महिलालाई पनि त्यसै मार्गमा डोहोर्याउने उद्यमी हुनुहुन्छ । आजभन्दा करिब १२ वर्षअघि तारादेवीले घरेलु तथा साना उद्योगको समन्वयमा सिलाइकटाइ तालिम लिनुभएको थियो । तालिमपश्चात आफ्नै मेसिन नभएकाले उहाँले केही वर्ष मेसिन भाडामा लिएर कपडा सिलाउने काम गर्नुभयो ।

    त्यही क्रममा एक दिन उहाँले उत्सुकतावश सिलाइको कपडाबाट बाँकी रहेको कपडाबाट तीनवटा सामान्य सुर्की झोला बनाएर आफ्नै पसलमा राख्नुभयो ।

    ती झोला तुरुन्तै बिक्री भए । निरन्तर एक सातासम्म तारादेवीले दिनमा तीन–चारवटा झोला बनाएर पसलमा राख्दा पनि माग बढ्दै गयो । यही सफलताले उहाँलाई झोला उत्पादनलाई उद्यमका रूपमा अगाडि बढाउने प्रेरणा दिएको तारादेवी स्मरण गर्नुहुन्छ ।

    त्यसपछि २०७६ सालदेखि स्थानीयमा उपलब्ध हुने कच्चा पदार्थ ढाका, अल्लोलगायतबाट झोला बनाउन तारादेवीले उद्योग खोल्नुभयो । हाल उहाँले सञ्चालन गर्दै आएको उद्योगबाट विभिन्न आकार, प्रकार र डिजाइनका झोला उत्पादन हुने गरेका छन् । मूल्य दायरा रु ५० देखि रु तीन हजार ५०० सम्मको छ । सस्तो मूल्यका झोलादेखि उच्च गुणस्तरका डिजाइनर झोलासम्म यहाँ उपलब्ध हुन्छन् ।

    झोलाका लागि चाहिने कच्चा पदार्थ काठमाडौँ, भारतको सिलुगुडीबाट आउने गरेको तारादेवी बताउनुहुन्छ । उद्योगमा अहिले १८ महिलाले नियमित रोजगार पाउनुभएको छ भने थप १५ जना आंशिक रूपमा संलग्न हुनुहुन्छ । उहाँहरू आ–आफ्नो घरधन्दा सकेर दिउँसो केही घण्टा उद्योगमा काम गर्न आउनुहुन्छ । दक्षताका आधारमा महिलाले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म कमाइ गर्ने गरेका छन् ।

    यसरी घरपरिवार चलाउनेमात्र होइन, आफ्नै श्रमबाट आर्थिक रूपमा सशक्त बन्न पाउँदा उहाँहरूले गर्व र खुसी अनुभव गर्ने गरेको तारादेवी बताउनुहुन्छ । शीतला झोला उद्योगको उत्पादन अहिले झापा जिल्लामै सीमित छैन ।

    कोशी प्रदेशका अधिकांश पहाडी जिल्लामा मात्र होइन, सुदूरपश्चिमको कञ्चनपुरसम्म झोलाको माग पुग्छ । भीमदत्त नगरपालिकाबाट नगरसभाका सदस्यहरूलाई वितरण गर्नका लागि गत असारमा मात्र एक सय १० झोलाको माग आएको थियो, जुन तारादेवीले चार दिनभित्र तयार गरेर पठाउनुभयो । कोभिड–१९ का कारण देशभर बन्दाबन्दी भयो त्यही समयमा आफ्नो झोला उद्योगले राम्रो बजार पाएको तारादेवी बताउनुहुन्छ ।

    यसका अतिरिक्त उद्योगका झोला बुद्धशान्ति गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गरेको छ । त्यसबाहेक सङ्खुवासभाको खाँदबारी, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा पनि झोला पुग्ने गरेको छ ।

    झोला उत्पादनमात्र नभई तारादेवी तालिम दिने काममा पनि सक्रिय हुनुहुन्छ । स्थानीय तह, सामुदायिक संस्थाले माग गरेअनुसार उहाँले महिलालाई झोला सिलाइ तालिम दिनुहुन्छ ।

    यसरी तालिम पाएका महिलाले पनि आफ्नै क्षेत्रमा सानो स्तरमा भए पनि झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन् “तालिमले महिलालाई सीप दिन्छ, सीपले आत्मबल बढाउँछ, आत्मबलले रोजगारी र आयआर्जन ल्याउँछ”, तारादेवीले भन्नुभयो । उहाँले झोला उत्पादन सुरु गर्नुभएको केही वर्षमै यसैबाट भएको नाफाले बुद्धशान्ति–३ प्रगतीटोलमै जग्गा किन्नुभयो र तीनतले घर पनि निर्माण गर्नुभयो ।

    हाल उद्योग सोही घरको भुइँतलामा सञ्चालन भइरहेको छ । उद्योगबाट खर्च कटाएर वार्षिक करिब रु १५ लाख नाफा हुने गरेको उहाँले बताउनुभयो । यतिमात्र होइन, आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउन तारादेवीले नयाँ पुस्ताले प्रयोग गर्ने प्रविधि आत्मसात् गर्ने गर्नुभएको छ । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका साथै स्थानीय मेला हाटबजारमार्फत प्रचारप्रसार गर्दै उहाँले बजार विस्तार गरिरहनुभएको छ ।

    शीतला झोला उद्योग केवल एक व्यावसायिक उपक्रममात्र होइन, यो महिलालाई आत्मनिर्भर र सशक्त बनाउन बनाइएको एक खम्बा हो । यहाँ काम गर्ने महिलाले आफ्नो परिवार चलाउनमात्र होइन, समाजमा आर्थिक रूपमा योगदान गर्न पाउँछन् ।

    धेरै महिलाले उद्योगबाट कमाएको पैसाले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरधन्दा चलाइरहेका तारादेवी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मलाई सबैभन्दा ठूलो सन्तुष्टि महिलालाई सीप सिकाएकामा छ, आत्मबल दिएको छ, आम्दानीको बाटो देखाएको छ ।”

    तारादेवीको योजना अझ ठूलो छ । आगामी दिनमा देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्दै महिलालाई रोजगारी सृजना गर्ने वातावरण बनाउन उहाँ चाहनुहुन्छ । साथै, उत्पादनलाई अझ गुणस्तरीय र आकर्षक बनाउन नयाँ प्रविधि र डिजाइनमा लगानी गर्ने तयारी पनि छ ।

    तारादेवीको कथा केवल व्यक्तिगत सफलताको कथा होइन । यो कथा हो– सङ्घर्षबाट उद्यमिता जन्मिन सक्ने, सीपलाई प्रयोग गरेर समाज परिवर्तन गर्न सक्ने र महिलाले पनि ठूलो योगदान दिन सक्ने प्रमाण ।

    झापाको एउटा सानो गाउँबाट सुरु भएको उहाँको यात्रा आज महिलाको आत्मनिर्भरता, श्रमको सम्मान र सफलताको प्रतीक बनेको छ । तारादेवीको दृढता र लगनशीलताले देखाएको बाटो अरू महिलाका लागि प्रेरणादायी बन्न पुगेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend