logo

२०८३ कार्तिक १० सोमबार

मन्त्री घिसिङसँग बेलायती राजदूतको शिष्टाचार भेट

मन्त्री घिसिङसँग बेलायती राजदूतको शिष्टाचार भेट


खबर सर्कल
  • मंगलबार, ७ असोज २०८२
  • 1.3K
    SHARES

    काठमाडौं, ७ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनाका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    भेटमा मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रुपमा क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभएको थियो ।

    त्यसैगरी उहाँले नेपालको आर्थिक विकासमा बेलायतले गरेको सहयोगको सराहना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउन ‘चार्जिङ स्टेसन’ स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताउनुभएको थियो ।

    सो अवसरमा राजदूत फेनले बेलायत नेपालको पुरानो मित्र भएको र नेपालको सफलता तथा आर्थिक रुपान्तरणमा निरन्तर सहयोग रहने उल्लेख गर्नुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend