logo

२०८३ कार्तिक १० सोमबार

दसैँ नजिकिएसँगै भोजपुरमा चहलपहल बढ्यो

दसैँ नजिकिएसँगै भोजपुरमा चहलपहल बढ्यो


खबर सर्कल
  • आइतबार, १२ असोज २०८२
  • 1.5K
    SHARES

    भोजपुर, १२ असोज : दसैँ नजिकिएसँगै यहाँको बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ । केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ । गाउँगाउँबाट दसैँका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री किन्न मानिसहरू सदरमुकाम आएका छन् ।

    बजारमा चहलपहल बढेसँगै पसल व्यवसायी पनि व्यस्त भएका छन् । व्यापारीले दसैँलक्षित छुट योजना, नयाँ सामानको भण्डारण र सजावट गरेर ग्राहक आकर्षित गर्ने प्रयास गरेका छन् । दसैँका लागि आवश्यक पर्ने चामल, मासु, मसला, कपडा तथा मिठाइका पसलमा विशेष भीड देखिएको छ ।

    यससँगै घर फर्कनेहरूको आवतजावत पनि बढेको छ । लामो समयदेखि रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका मानिसहरू आफ्ना परिवारसँग दसैँ मनाउन घर फर्कन थालेका छन् । सार्वजनिक यातायातमा यात्रु चाप बढेको छभने टिकट अभाव हुने अवस्थासमेत देखिन थालेको छ ।

    स्थानीयवासीले दसैँले आपसी भेटघाट, मेलमिलाप र खुसीको माहोल ल्याउने भएकाले बजारमा चहलपहल बढ्नु स्वाभाविक भएको बताएका छन् । भोजपुर सदरमुकामसँगै टक्सार, दिङला, हतुवागढीलगायतका स्थानीय बजारमा पनि हाल चहलपहल बढेको देखिन्छ । दसैँको नजिकिँदै गर्दा गाउँटोलमा पिङ बनाउने, घरसफाइ गर्ने र नयाँ कपडा खरिद गर्ने क्रमले पनि उत्सवको रौनक थपेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend