logo

२०८३ कार्तिक १० सोमबार

म्याग्दीको सिंगामा उत्पादित दूध पोखरामा

म्याग्दीको सिंगामा उत्पादित दूध पोखरामा


खबर सर्कल
  • बुधबार, २२ असोज २०८२
  • 1.3K
    SHARES

    म्याग्दी (बेनी), २२ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको दूध पोखरामा पठाउन हुन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो । वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रालिबीचमा दूध उत्पादन तथा खरिदबिक्रीको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दूध पोखरा पठाउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।

    म्याग्दीको स्थानीय बजारमा गाईको दूध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दूध सङ्कलन गर्ने र उद्योगले आफैँ आएर दूध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको अगुवा कृषक समेत रहनुभएका सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो । “अहिलेसम्म भैँसीको दूध मात्रै बेनीमा खपत हुने गरेको थियो, अब गाई र भैँसीको दूध नै बिक्री हुने सुनिश्चित भएको छ, कृषकले जति उत्पादन गरे पनि उद्योगले दूध खरिद गर्ने सम्झौता भएको छ”, उहाँले भन्नुभयो ।

    बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरुले हरेक दिन केन्द्रमा दूध सङ्कलन गर्ने र ५०० लिटर बढी दूध सङ्कलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दूध लैजाने व्यवस्था मिलाइएको छ । मङ्गलबार पहिलो दिन ७५० लिटर दूध उद्योगले खरिद गरेर लगेको सहकारीले जनाएको छ । दुग्ध सङ्कलन केन्द्रमा अहिले २० जना कृषकहरुले दैनिक रुपमा दूध बिक्री गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दूध ढुवानी गर्ने ट्याङ्कर अहिले दुई दिनमा एक पटक सिंगा आएर दूध ढुवानी गरी लैजान थालेको छ ।

    मेसिनबाट दूधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीयस्तरमा उत्पादन भएको दूधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार, कृषकलाई १५÷१५ दिनमा दूधको रकम भक्तानी हुने सम्झौता गरिएको छ । “गाईको दूधले बजार पाउने अवस्था थिएन, कतिपय समुदायले उत्पादन गरेको दूध स्थानीय बजारमा खपत हुने अवस्था थिएन, अब यी सबै समस्याको समाधान भएको छ”, वडा अध्यक्ष खड्काले भन्नुभयो । गाईको दूधले बजार पाउने सुनिश्चित भएपछि सिंगामा गाईपालनको लहर चलेको छ । सिंगामा यसअघि शुभकामना कृषि सहकारी संस्थाले कृषकहरुको दूध सङ्कलन गरेर बेनी बजारमा बजारीकरण गर्दै आएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend