logo

२०८३ कार्तिक १० सोमबार

लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार

लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार


खबर सर्कल
  • बुधबार, २२ असोज २०८२
  • 1.5K
    SHARES

    लहान २२ असोजः यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा पछिल्लो तीन वर्षयता आँखासम्बन्धी समस्या भएका नगरबासीको निशुल्क उपचार गर्दै आएको छ ।

    पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

    लहान–१५ ढोड्नामा आज सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरको उद्घाटन गर्दै नगरप्रमुख महेश प्रसाद चौधरीले भन्नुभयो, “कोही पनि नगरवासी आर्थिक अभावमा आँखाको समस्याबाट पीडित नहुन् भनेर हामीले यो कार्यक्रमलाई निरन्तरता दिएका छौँ । यसमा लागेको सम्पूर्ण खर्च नगरले बेहोर्ने छ । यस वर्ष पनि वडा नम्बर १५ बाट सुरुआत भइसकेको छ र नगरका २४ वटै वडामा शिविर सञ्चालन गरिनेछ ।”

    कार्यक्रममा सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले ‘तमसो मा ज्योतिर्गमय’ भन्ने नारासहित अस्पतालले हरेक वर्ष करिब २५ लाख आँखाका बिरामीको उपचार गरिरहेको जानकारी दिनुभयो । उहाँले विभिन्न स्थानीय तहसँगको सहकार्यमा अस्पतालले दक्ष जनशक्ति र प्रविधिसहित आँखा जाँच शिविरलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

    त्यसैगरी अस्पतालका प्रशासन प्रमुख अभिषेक रोशनले हालका दिनमा वृद्धि भएको मधुमेहका कारण आँखाका रोग विकराल बन्दै गएकाले हरेक छ महिनामा आँखाको जाँच गराउन आग्रह गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले समयमै आँखाको जाँच गरिए अन्धोपनबाट बच्न सकिने भएकाले सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend