logo

२०८३ कार्तिक १० सोमबार

छठीसहित इष्टदेवलाई पूजाआराधना गरी खरना विधि सम्पन्न

छठीसहित इष्टदेवलाई पूजाआराधना गरी खरना विधि सम्पन्न


खबर सर्कल
  • आइतबार, १० कार्तिक २०८२
  • 1.5K
    SHARES

    धनुषा, ९ कात्तिकः छठ पर्वअन्तर्गत आज खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुले छठीसहित इष्टदेवलाई पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।

    व्रतालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध तथा चामलबाट बनेको खिर खरनामा नैवेद्यका रुपमा दिनुपर्ने हुन्छ । खरनामा छठ पर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउनुपर्ने हुन्छ । खरनामा नैवेद्यमा खिर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि चढाइन्छ । नैवेद्यलाई केराको पातमा राखेर छठीमातासहित इष्टदेवतालाई चढाइन्छ ।

    नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसादग्रहण गर्ने गरेका छन् । योसँगै दिनभरि निराहार उपावास बसेकी व्रतालुले नुनरहित खरना खाएका छन् । खरनासँगै व्रतीले खाएको नुनरहित खानापछि करिब ४८ घण्टाभन्दा बढी समयसम्म निराहार बस्ने गर्दछन् । खरनालाई छठ पर्व आस्था र निष्ठाका साथ सम्पन्न गर्ने सङ्कल्प गर्ने विधिका रुपमा समेत मानिन्छ ।

    छठअन्तर्गत सोमबार बिहानदेखि नै प्रसाद छठ घाटमा लगेर राखिने र साँझ अस्ताउन लागेको सूर्यलाई पहिलो अघ्र्य दिने विधि रहेको छ । मङ्गलबार बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिएर छठ व्रतको विधिवत् रुपमा समापन गरिन्छ । सोही दिन व्रतीले ४८ घण्टाको कठोर उपवासपछि खाना खाने गर्दछन्, जसलाई पारण भनिन्छ ।

    विश्व शान्ति, मानव कल्याणका साथै परिवारजनको खुसी, शान्ति, समृद्धि, सन्तान प्राप्ति तथा निरोगिताको कामनासहित छठ पर्व मनाउने चलन छ । चार दिनसम्म मनाइने छठ पर्वको आजदेखि पर्सिसम्मको विधि नै मुख्य विधिका रुपमा रहेको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend