logo

२०८३ कार्तिक १० सोमबार

छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै

छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै


खबर सर्कल
  • सोमबार, ११ कार्तिक २०८२
  • 1.5K
    SHARES

    राँझा (बाँके), १० कात्तिकः पश्चिम तराईको सहर नेपालगञ्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मिथिलावासीले मनाउँदै आएको छठपर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताउनुभयो ।

    “नेपालगञ्जमा ५÷६ जनाबाट केही वर्षअघि सुरु भएको छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ”, पाठकले भन्नुभयो, “हाल करिब ७०० परिवारले बागेश्वरी तलाउमा निष्ठापूर्वक छठपूजा गर्दै आउनुभएको छ ।” छठको दिनमा पूजा गर्दा भक्तजनले मनमा चिन्तन गरेको मनोकाङ्क्षा पूरा भएकाले नेपालगञ्जमा छठपर्व मनाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उहाँको भनाइ छ ।

    पूर्वी तराईबाट कामको सिलसिलामा नेपालगञ्ज आएर बसेकाहरूले मात्र यो पर्व मनाउने गरे पनि पछिल्लो समय नेपालगञ्जका रैथाने र पहाडी मूलका नेपालीले समेत छठ मनाउन थालेको नेपालगञ्जका कानुन व्यवसायी विश्वजीत तिवारीले बताउनुभयो । उहाँले छठ सबै नेपालीको साझा भइसकेको उल्लेख गर्नुभयो ।

    “पूर्वी तराईमा सीमित छठ नेपालगञ्ज क्षेत्रका बासिन्दाले समेत धुमधामका साथ मनाउन थालेपछि सामाजिक एवं धार्मिक सद्भावमा सहयोग पुगेको छ”, तिवारीले भन्नुभयो, “एकले अर्काको धर्म र संस्कृतिको सम्मान गरेकै कारण नेपालगञ्जमा अन्तरधार्मिक सद्भाव मजबुद छ ।”

    पूर्वबाट आएकाहरूलाई साथ दिन र भगवानप्रतिको आस्था बढ्दै गएकाले छठ मनाउनेको सङ्ख्या बढेको तिवारीको भनाइ छ । नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा छठपूजा गर्नेको भीड लाग्ने गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend