logo

२०८३ कार्तिक १० सोमबार

देश निर्वाचनमा केन्द्रित भयोः संयोजक दाहाल

देश निर्वाचनमा केन्द्रित भयोः संयोजक दाहाल


खबर सर्कल
  • शनिबार, १९ पुष २०८२
  • 1.2K
    SHARES

    किमाथाङ्का (सङ्खुवासभा), १९ पुसः नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनुभयो ।

    प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनुभयो । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताउनुभयो ।

    जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गर्नुभयो ।

    काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताउनुभयो ।

    “संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ”, उहाँले भन्नुभयो ।

    जेनजी आन्दोलनको मर्मभावनाअनुसार अहिलेका राजनीतिक दलहरुले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उहाँको भनाइ छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनःस्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताउनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल खाँदबारी आउनुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend