logo

२०८३ कार्तिक १० सोमबार

जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते


खबर सर्कल
  • सोमबार, १३ माघ २०८२
  • 1.2K
    SHARES

    दैलेख, १२ माघः यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

    महावु गाउँपालिका–५ कुटीमा आज दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल गरिए पनि उपचारका लागि लैजान नपाउँदै घटनास्थलमै मृत्यु भएको महावु–५ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिनुभयो ।

    सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका–६ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट आजै दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा दीपक सिंजाली र निकेश सिंजाली छन् । उनीहरू दुवैको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो क्षेत्र दुवै गाउँपालिकाको सिमानामा पर्ने भएकाले बँदेलले दुवैतर्फका बस्तीमा आतङ्क सिर्जना गरेको स्थानीयले बताएका छन् ।

    महावु–४ गीताचौर स्वास्थ्यचौकीका इञ्चार्ज राजेश हमालले घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै भन्नुभयो, “आक्रमण गर्ने बँदेल अहिले पनि घटनास्थल नजिकै ५०–६० फिटको दूरीमा बसिरहेको छ । यसले गाउँलेहरू आतङ्कित छन् । तत्काल नियन्त्रण नगरिए थप मानवीय क्षति हुनसक्ने देखिएको छ ।”

    घटनाको जानकारी पाएलगत्तै काँशिकाँध अस्थायी प्रहरीचौकीबाट प्रहरी टोली र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको छभने गाउँपालिकाको टोली पनि सो क्षेत्रतर्फ लागेका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन्यजन्तुको आक्रमणबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त बँदेललाई नियन्त्रणमा लिन सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताउनुभयो । “हामीले स्थिति नियन्त्रणमा लिन र थप घटना हुन नदिन आवश्यक योजना बनाइरहेका छौँ”, प्रजिअ सारुले भन्नुभयो ।

    यो क्षेत्रमा विगत केही समयदेखि जङ्गली बँदेल र जनावरहरूले मानिसलाई आक्रमण गर्ने तथा बालीनाली नष्ट गर्ने गर्दा स्थानीयवासी सास्ती भोग्दै आएका छन् । वन्यजन्तुको बढ्दो आतङ्कका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend