गण्डकी, १६ माघ : राष्ट्रिय समाचार समिति (रासस) का कास्की जिल्ला समाचारदाता कृष्ण दवाडी आज पोखरामा सम्मानित हुनुभएको छ ।
पोखरा महानगरपालिका–१ सिमपानीस्थित करुणानिधि एजुकेसन फाण्उडेशन (केफ) माध्यमिक विद्यालयको ३२औँ वार्षिकोत्सवका अवसरमा सम्मानित हुनुभएको हो । उहाँलाई पत्रकारिताका माध्यमबाट नागरिकलाई सत्यतथ्य र निष्पक्ष समाचारका माध्यमबाट सुसुचित गरी सुकर्ममा लाग्न अभिप्रेरित गरेकामा सम्मान गरेको विद्यालयले जनाएको छ ।
उहाँलाई सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल र विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले सम्मानपत्र र दोसल्लाबाट सम्मान गर्नुभएको थियो ।
पत्रकार दवाडीले दुई दशकदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । यसैगरी विद्यालयले कला साहित्य विधामा सुरेशरमण अधिकारी तथा समाजसेवातर्फ क्या तेजबहादुर बस्नेतलाई सम्मान गरेको छ । विद्यालयले हरेक वर्ष पत्रकारिता, साहित्य र समाजसेवा विधामा सम्मान प्रदान गर्दै आएको विद्यालयका सहायक प्राचार्य भानुभक्त पोखरेलले बताउनुभयो ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend