logo

२०८३ कार्तिक १० सोमबार

बैतडीमा दुई हजार ७० अस्थायी मतदाता कायम

बैतडीमा दुई हजार ७० अस्थायी मतदाता कायम


खबर सर्कल
  • सोमबार, १८ फाल्गुन २०८२
  • 936
    SHARES

    दशरथचन्द (बैतडी), १८ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा दुई हजार बढी अस्थायी मतदाता कायम भएका छन् ।

    यही फागुन २१ गते हुने निर्वाचनका लागि दुई हजार ७० अस्थायी मतदाता कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । अस्थायी मतदाताका लागि दशरथचन्द नगरपालिका–४ स्थित दशरथ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।

    निर्वाचनमा खटिएका कर्मचारीको हकमा सम्बन्धित केन्द्रबाटै मतदान गर्नेछन् । निर्वाचनका लागि कूल एक हजार २८८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अस्थायी मतदातामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन सुरक्षामा खटिने प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, वृद्धा श्रममा रहेका व्यक्ति तथा कारागारमा रहेका थुनुवा र कैदीबन्दी समावेश गरिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२९ मतदानस्थल, एक अस्थायीसहित २१५ मतदान केन्द्र छन् । जिल्लामा कूल एक लाख ५६ हजार ३७२ जना मतदाता छन् । जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend