logo

२०८३ कार्तिक १० सोमबार

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान


खबर सर्कल
  • शनिबार, ३० फाल्गुन २०८२
  • 1.3K
    SHARES

    भोजपुर, ३० फागुनः भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् ।

    विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका किसान व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती विस्तार गर्न सक्रिय भएका हुन् । किसानहरूले बारीमा मल्चिङ प्रविधि प्रयोग गरी खुर्सानीखेती गर्न थालेका छन् । यस प्रविधिले बिरुवाको वृद्धि राम्रो हुने, झारपात कम उम्रने र गोडमेल गर्न सजिलो हुने भएकाले किसानहरूले यसको प्रयोग बढाउँदै लगेका छन् ।

    भोजपुर नगरपालिका–५ का किसान कमला थापाका अनुसार अहिले बोखिम क्षेत्रका किसान खुर्सानीखेतीका लागि जमिन तयारी गर्ने, मल्चिङ प्लास्टिक बिछ्याउने र बेर्ना सार्ने काममा व्यस्त छन् । अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरूले विगत केही वर्षदेखि यसलाई व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।

    यहाँ सडक पहुँच विस्तार भएसँगै उत्पादन भएको खुर्सानी बजारसम्म पु¥याउन सहज भएको छ । यही कारणले पनि हरेक वर्ष व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको किसानहरूको भनाइ छ ।

    भोजपुरमा विशेषगरी पौवादुङमा गाउँपालिकामा अकबरे खुर्सानीको बढी खेती हुने गरेको छ । यसबाहेक भोजपुर नगरपालिका, अरुण गाउँपालिका र षडानन्द नगरपालिकाका किसानले पनि व्यावसायिक रूपमा खुर्सानीखेती गर्दै आएका छन् ।

    टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा समेत सीमित मात्रामा खुर्सानीखेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिनुभयो ।

    कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत आर्थिक वर्ष जिल्लामा करिब ६०९ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती गरिएको थियो । पछिल्लो समय अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या र खेती क्षेत्र दुवै बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend