logo

२०८३ कार्तिक १० सोमबार

नतिजा सुधारभन्दा गुणस्तरीयतामा ध्यान दिन सुझाव

नतिजा सुधारभन्दा गुणस्तरीयतामा ध्यान दिन सुझाव


खबर सर्कल
  • बुधबार, ४ चैत्र २०८२
  • 975
    SHARES

    कर्णाली, ४ चैतः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिनुभएको छ ।

    शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा आज आयोजित एसइई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले केवल नतिजाले मात्र शिक्षाको गुणस्तर मापन नहुने भएकाले गुणस्तरीयता प्रमुख आधार भएको जिकिर गर्नुभयो । यसका लागि विद्यालय शिक्षा सुधारका लागि सबै तहले जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

    शिक्षा ऐनलाई मात्र देखाएर कतिपय सामान्य काम पनि हुन नसकिरहेको टिप्पणी गर्दै मन्त्री भण्डारीले सबैले आफ्नो भूमिका अनुसारको जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश तहबाट विभिन्न काम भइरहेको छ र आगामी दिनमा गर्नुपर्ने नीतिगत कामप्रति हामी प्रतिबद्ध छौँ ।”

    विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि राज्यको लगानी थुप्रै भएपनि जीवनोपयोगी शिक्षण सिकाइ हुन् नसकिरहेको मन्त्री भण्डारीले यसका लागि शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । परीक्षाको नतिजा परीक्षा सञ्चालन व्यवस्थापनको आधारमा हुने गरेकाले सोही बमोजिम सञ्चालन गर्न उहाँले सुझाउनुभयो ।

    शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमालले एसइई परीक्षा व्यवस्थित तथा मर्यादित रूपले सञ्चालन गर्न दशवटै जिल्लाका परीक्षा समन्वय समितिलाई आवश्यक निर्देशन दिइएको बताउनुभयो । यसका लागि स्थानीय तह, अभिभावक, विद्यालय स्वयंले आआफ्नो दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend