logo

२०८३ कार्तिक १० सोमबार

दुई वर्षमा कालोपत्र हुनुपर्ने सडक सात वर्षसम्म पनि भएन

दुई वर्षमा कालोपत्र हुनुपर्ने सडक सात वर्षसम्म पनि भएन


खबर सर्कल
  • बुधबार, २३ बैशाख २०८३
  • 871
    SHARES

    ढोरपाटन (बागलुङ), २३ वैशाख ः दक्षिण बागलुङको ‘लाइफलाइन’ का रुपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ ।

    पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्र हुन नसकेको हो । विसं २०७६ असोजमा २४ गते शर्मा÷क्याराभान जेभीले दुई वर्षमा सक्ने गरी जिम्मा पाए पनि अहिलेसम्म कालोपत्र नगर्दा यात्रा र सामान ढुवानीमा समस्या भएको छ ।

    विसं २०७८ असोजसम्म कालोपत्र गरिसक्नुपर्ने सडक हालसम्म जम्मा ७८ प्रतिशत काम सकिएको छ । गण्डकी प्रदेश सरकारको रु २४ करोड ५८ लाख लागतमा कालोपत्रको काम अगाडि बढाइएको थियो ।

    निर्माण कम्पनीले सुरुदेखि नै काम गर्न आनकानी गर्दै आएको पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर प्रकाश श्रीसले बताउनुभयो । अहिले मूल्य वृद्धिको बहाना बनाएर काम रोकेको उहाँको भनाइ छ । काम सम्पन्न गर्नका लागि ताकेता गरे पनि अटेर गरिरहेको श्रीसले बताउनुभयो । उहाँका अनुसार हालसम्म निर्माण कम्पनीले पाँच पटक म्याद थप गरेको छ ।

    अन्तिम पटक थपिएको म्याद गत चैत ४ गते सकिएको इञ्जिनियर श्रीसले जानकारी दिनुभयो । अब म्याद थप गर्ने कि सम्झौता अन्त्य गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । निर्माण कम्पनीले हालसम्म काम गरेको भुक्तानी भने लगि सकेको उहाँ बताउनुहुन्छ ।

    इञ्जिनियर श्रीसले भन्नुभयो, “काम सक्नका लागि धेरै पटक तातेका गरेका ग¥यौँ, तर निर्माण कम्पनीले सुन्दै सुनेन्, सरासर काम गरेको भए पाँच वर्ष अगाडि नै सकिनु पथ्र्यो तर अहिलेसम्म कामले राम्रासँग गति लिएको छैन, काम त पहिलेदेखि गरी रहेको थिएन, अहिले महङ्गीका कारण काम गर्न सकिएन भन्छ ।”

    उक्त सडकको राङखानी–बरेङ खण्ड भने दुई वर्ष अगाडि नै कालोपत्र भइसकेको छ । निर्माण कम्पनी लामो समय सम्पर्कविहीन हुँदै आएको थियो । सडक कालोपत्र हुने आशमा सात वर्ष बितिसकेको जेमिनी नगरपालिका–१० राङखानीका भक्तबहादुर थापाले बताउनुभयो । गाउँको सडकमा दैनिक गाडी गुड्दा हिउँदमा धुलो र वर्खामा हिलो घरभित्रै आउने गरेको उहाँले गुनासो पोख्नुभयो ।

    “यो बाटो पिच हुन्छ, हुन्छ भनेको पनि धेरै वर्ष भयो, अहिलेसम्म जस्ताको त्यस्तै छ, हिउँदभरि बाटोको धुलो उडेर भान्छाकोठा मै आउँछ, बारीका तुलफूल पनि धुलैधुलो हुन्छन्”, थापाले भन्नुभयो, “वर्खामा बाटोको भल सबै बारीमा पसेर दुःख दिने गरेको छ, यसको समाधान कहिले हुने रैछ कुन्नी ?”

    स्थानीय पुष्पा श्रीसले सडकको दुरावस्थाका कारण सामान ढुवानी र यात्रा गर्न निकै कठिन हुने गरेको बताउनुभयो । गाडीवालाले अप्ठ्यारो सडक देखाएर छोटो दूरीमा पनि बढी भाडा लिने गरेको उहाँको भनाइ छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend