logo

२०८३ कार्तिक १० सोमबार

पाकिस्तान हट्दा ईयुको कालो सूचीबाट हटेन नेपाल

पाकिस्तान हट्दा ईयुको कालो सूचीबाट हटेन नेपाल


खबर सर्कल
  • आइतबार, ३० मंसिर २०८१
  • 2.5K
    SHARES

    काठमाडौँ । युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै (२० वटा वायुसेवा) कम्पनीलाई आफ्नो उक्त सूचीमा यथावत राखेको हो ।

    ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ) को ‘खैरो सूची’ मा समेत परेको थियो । तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट हटाएको थियो ।

    उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ । ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।

    कुन–कुन देश छन् कालोसूचीमा ?

    यसपटक तान्जिनियालाई पनि ईयूले यो सूचीमा समावेश गरेको छ । युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा एजेन्सी (ईएएसए) को सुरक्षा चासोका आधारमा तान्जिनियालाई यो सूचीमा समावेश गरिएको आयोगले जनाएको छ । यसपटक पाकिस्तानको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई भने यो सूचीबाट हटाएको उल्लेख गरिएको छ ।

    अद्यावधिक विवरण अनुसार १५ देशका १२९ एयरलाइन्स कम्पनी युरोपेली आकाशमा प्रतिबन्ध हुने सूचीमा छन् । यसमध्ये रसियाका २२ एयरलाइन्स, तान्जिनियाको एयर तान्जानिया, जिम्बाबेको एयर जिम्बाब्वे, भेनेजुएलाको एभियर एयरलाइन्स, सूरीनाम ब्लू विंग एयरलाइन्स, इरान असमान एयरलाइन्स, इराकको फ्लाई बगदाद तथा इराकी एयरवेज समेत छन् ।

    ईयूले सार्वजनिक गरेको ग्रे–सूचीमा अङ्गोलाको सातवटा एयरलाइन्सलाई यो सूचीमा राखिएको छ भने सोही देशका दुई एयरलाईन्सलाई भने यो सूचीमा राखिएको छैन ।

    त्यस्तै, अफगानिस्तानका २, अर्मेनियाका ९, कंगोका १७, जिबुटीको एक, इक्वेटरीय गिनी २, इरिट्रिया २, किर्गिस्तान १४, नेपालको २०, साओ टोमे र प्रिन्सिपको १ र सुडानको १२ वटा एयरलाइन्स अहिले यो सूचीमा छन् । लाइबेरिया र सिएरा लिओनका एयरलाइन्स कम्पनीहरुलाई समेत यो सूचीमा समावेश गरिएको छ ।

    त्यस्तै, इरानको एयर इरान र उत्तर कोरियाको एयर कोरियोमाथि समेत विशेष प्रकारका विमान मात्रै उडान गर्न सक्नेगरी प्रतिबन्ध लगाइएको आयोगले जनाएको छ ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend