logo

२०८३ कार्तिक १० सोमबार

कुलमानको पक्षमा युवाहरू सडकमा उत्रिने

कुलमानको पक्षमा युवाहरू सडकमा उत्रिने


खबर सर्कल
  • शुक्रबार, ३२ साउन २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । राज्य सत्ताको गलत क्रियाकलापका विरुद्ध भन्दै युवा अभियन्ताहरूले आन्दोलन गर्ने बताएका छन् ।

    शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै युवाहरूले राज्य सत्ताको गलत क्रियाकलापको विरुद्धमा शनिबार काठमाडौँमा प्रदर्शन गर्ने बताएका हुन् । देशमा भएको बेथिति, अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न लागिएको बताइएको छ ।

    सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गरेर भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न खोजेको र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झुटा मुद्दा लगाएर उद्योगहरूलाई २२ अर्ब विद्युत् बक्यौता छुट दिन खोजिएको उनीहरूको आरोप छ । प्राधिकरणको २२ अर्ब बक्यौता उद्योगी व्यवसायीहरूले तिर्नुपर्ने र प्राधिकरण डुबाउने चलखेल बन्द हुनुपर्नेसहित उनीहरुले ९ बुँदे माग सार्वजनिक गरेका छन् ।

    कार्यक्रमका वक्ता रवि किरणले देशमा बेथिति र भ्रष्टाचार बढिरहेकाले त्यसको लागि सशक्त आन्दोलन गर्न लागिएको बताए । सरकारले राज्यका निकायहरूलाई निकम्मा बनाउने र सुशासनको पक्षमा उभिएका मानिसहरूलाई प्रताडित गराउने काम गरेको उनको भनाइ छ ।

    अर्का वक्ता विजय कँडेलले वर्तमान सरकारको काम कारबाहीप्रति कसैलाई पनि चित्त नबुझेको बताए । उनले देशमा चरम भ्रष्टाचार रहेको र भ्रष्टाचारको अन्त्य आफूहरूको मूल एजेण्डा रहेको बताए ।

    कार्यक्रममा मुकेशबाबु देवकोटा, समिरा पोखरेल, विजय खड्गी, नगेन्द्र देउजा, दिनेश खनाल, देशभक्त युवा नेपालका संस्थापक अध्यक्ष अर्जुन पौडेल, शिव यादव, सोम शर्मालगायतले भ्रष्टाचारको विरुद्धमा आफ्ना अभिव्यक्तिहरू दिएका थिए ।

     

    श्रोत:रातोपाटी

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend