काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताएका छन् ।
मंगलबार कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालका राजनीतिक दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको उनले बताएका हुन् ।
‘तबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’ उनले प्रदूषित राजनीतिलाई परिवर्तन गर्ने जिम्मेवारी नेता र दलहरूमा आएको पनि बताए । उनले समाजवादको भिन्न–भिन्न परिभाषा हुने गरेको भन्दै आफूहरूले भनेको समाजवाद एकदलीय वा दुई दलीय व्यवस्थाबाट सम्भव नहुने बताए ।
कांग्रेस र एमालेका दुईवटा ठुला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नभएको भन्दै नेपालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिचको सहमतिले समस्या समाधान नहुने र नेताहरूले मम गर्नुपर्ने पनि बताए । उनले संविधानले के दिएको र नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा आफ्नो फरक मत नरहेको पनि बताए ।
‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुनसक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ’, नेपालको भनाई छ ।
कार्यक्रममा नेपालले स्व. गिरीले नेपाली राजनीति र समाजमा पुर्याएको योगदानको चर्चा गर्दै गिरीको अभाव खड्किएको अनुभव भइरहेको बताए ।
श्रोत:रातोपाटी
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend