प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यताअनुसार बिहान ११ः३७ बजे नै टीका लगाएको जनाइएको छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।
टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रही आएको छ ।
दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा आजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । यसै मान्यताअनुसार खञ्जनेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend