logo

२०८३ कार्तिक १० सोमबार

एमालेको भागमा कर्णालीको नेतृत्व, माओवादीमा सर्कुलर

एमालेको भागमा कर्णालीको नेतृत्व, माओवादीमा सर्कुलर


खबर सर्कल
  • सोमबार, १९ चैत्र २०८०
  • 2.2K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले बताए ।

    ‘निर्णय भएर सर्कुलर पनि आइसकेको छ,’उनले भने, ‘निर्णय मान्नै पर्ने हुन्छ ।’ मुख्यमन्त्री राजकुमार शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए ।

    मुख्यमन्त्री शर्माले मङ्गलवार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए । तर, केन्द्रमा फरक सहमति भएपछि अब के हुने भन्नेबारे पनि अन्योलता कायमै छ ।

    माओवादीभित्र कर्णालीको नेतृत्व पार्टीले नै पाउनुपर्ने आवाज उठ्दै आएपनि अन्ततः एमालेलाई नै दिनेगरी केन्द्रमा सहमति भएको हो । तर यो सहमतिले माओवादीभित्र असन्तुष्टि भने बढ्नसक्ने नेताहरु बताउँछन् ।

    सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् भने लुम्बिनीमा हाल कांग्रेसको नेतृत्वमा सरकार छ । कांग्रेस नेतृत्वको सरकार ढलेपछि माओवादीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनको तयारी छ ।

    यसैगरी एमालेले कर्णालीबाहेक कोशी, गण्डकीमा पनि सरकारको नेतृत्व गर्नेछ। मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउनेगरी गठबन्धनमा निर्णय भएको एक एमाले नेताले जानकारी दिए ।

     

    श्रोत: रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend