logo

२०८३ कार्तिक १० सोमबार

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा


खबर सर्कल
  • सोमबार, १० कार्तिक २०८३
  • 260
    SHARES

    म्याग्दी । दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन् ।

    बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ । पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् ।

    करिब दुई दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि पुल निर्माण गरिएको थियो । सडक विभाग अन्तर्गतको बेलिब्रिज भएकाले यसको मर्मतसम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनले बताइन् ‍। पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको बताइन् ।

    हाल बेलिब्रिज एकतर्फी सञ्चालन भइरहेको छ । नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीयवासी अमृत पुनले बताइन् । दोबा जोड्ने एकमात्र बेलिब्रिज भएकाले सम्बन्धित निकायले तत्काल मर्मतसम्भार गर्नुपर्ने उनको भनाइ छ । दोबामा करिब ३०० घर परिवारको बसोबास छ ।

    Source:Ratopati

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend