काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिने बताएकी छन् । ‘काठमाडौँ फिल्म फेस्टिभल २०८३’ को जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको मौलिक संस्कृति, परम्परा, मूर्त–अमूर्त सम्पदा र अहिलेसम्म नभनिएका कथाहरूलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइन् ।
काठमाडौँ युनेस्को रचनात्मक सहर सञ्जाल (चलचित्र विधा) को सदस्य नगरसमेत भएको बताएकी डंगोलले काठमाडौँ कथै कथाको सहरसमेत भएको बताइन् । यसैलाई सार्थक बनाउन महानगरले चलचित्रलाई समुदाय र शिक्षासँग जोडेर प्राज्ञिक एवं प्राविधिक उद्योगका रूपमा विकास गर्न खोजेको धारणा राखिन् ।
‘काठमाडौँ फिल्म फेस्टिभल २०८३’ यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । महोत्सवमा भारतीय चलचित्र उद्योगकी प्रख्यात अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायतका अन्तर्राष्ट्रिय हस्तीहरूको विशेष सहभागिता रहने जनाइएको छ ।
विभिन्न देशका चलचित्रसहित ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शन राखिएको महोत्सवमा सम्पूर्ण फिल्महरू निःशुल्क हेर्न सकिनेछ ।
Source:Ratopati
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend