काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
केही दिनअघि राजदूतका रूपमा काठमाडौँ आएका दलेलाले शुक्रबार औपचारिक रूपमा ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार सोही समारोहमा लाओसका लागि गैरआवासीय राजदूत भिथाया जायाभोङ र पानामाका लागि गैरआवासीय राजदूत अलोन्सो मिगुएलले पनि राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा तीनै जना राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेस गरेको जनाएको छ ।
Source: Ratopati
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend